Techie IT
  • ६ फागुन २०८२, बुधबार
Nepal Gyan

आज बौद्धधर्मालम्वीहरुको महानपर्व ग्याल्पो लोसार मनाइँदै


काठमाडौँः बौद्धधर्मालम्वीहरुले आज २१५३ औँ मे फो त लो ग्याल्पो लोसार पर्व विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । लो अर्थात् वर्ष अनि सार अर्थात् नयाँ भनिन्छन् । बौद्धधर्मालम्वीहरुले यसलाई नयाँ वर्षका रूपमा अन्तिम लोसारको रूपमा मनाउँछन् ।

कोङपो, तोला, सोनाम पछि आउने यो ग्याल्पो लोसार आज विश्वभरका बौद्धधर्मालम्वीहरुले मनाउने गर्दछ । धार्मिक, संस्कृति र परम्परागत रूपमा यी चार लोसार अन्नबाली लगाउने देखि उत्पादन भएर घरमा भित्राउनेसम्मको अवधिमा मनाउने प्रचलन छ । तर पछिल्लो समय कोङपो लोसारको चर्चा कमै हुने गरेको पाइन्छ भने राज्य र अन्य समुदायले तोला लोसारलाई तमु लोसार गुरुङ जातीले मनाउने अनि सोनाम लोसार तामाङ जातीले मनाउने भनी भ्रम सिर्जना गरेको नेपाल बौद्ध महासङ्घको आरोप छ । बौद्ध महासङ्घका पुर्वअध्यक्ष आचार्य नुर्वु शेर्पाले चन्द्र पात्रो अनुसार लोसार मनाइने भएकाले कुनै दिन विशेषमा मनाएर लोसार जात विशेष नहुने र यो बौद्धधर्मलम्वीहरुको पर्व भएको स्पष्ट पारे ।

आज यो अन्तिम लोसार पर्वको अवसरमा शेर्पा, तामाङ, हेल्मो, थकाली, भोटे लगायत हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक, खाप्से, रिल्दुक, रिकुर लगायतका खाना खाएर आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो लोसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना ९डम्याङ० को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।

नयाँ वर्षका रूपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ ।

यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो ।


क्याटेगोरी : समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!