Techie IT
  • ३० माघ २०८२, बिहीबार
Nepal Gyan

काम नगर्ने ठेकेदारको तीन अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत


काठमाडौंः सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना निर्माणको ठेक्का तोडिएको पटेल—रमण जेभीबाट तीन अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुने भएको छ । सर्वोच्च अदालले निर्माण कम्पनीलाई यसअघि नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेसँगै सिँचाइ विभागलाई निर्माण कम्पनीबाट तीन अर्ब ६० करोड जफत हुने पक्का भएको हो ।

मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेसँगै कम्पनीको जमानत जफत हुने पक्का भएको सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बताए ।

ठेक्का सम्झौता गर्दा पटेल—रमण जेभीले कार्यसम्पादन जमानतबापत दुई अर्ब ४० करोड रुपैयाँबराबरको बैंक ग्यारेन्टी पेस गरेको थियो । साथै, कम्पनीले एक अर्ब २० करोड रुपैयाँ अग्रिम भुक्तानी लगेको थियो । त्यसका लागि पनि बैंक ग्यारेन्टी पेस गरिएको थियो । यी दुई गरेर तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत हुने पक्का भएको हो । यसमा प्रभु, ग्लोबल आइएमई, प्राइम कमर्सियल र कुमारी बैंक जमानी बसेका छन् । त्यसमा ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै हिस्सा छ ।

यद्यपि, कम्पनीले हालसम्म गरेको कामको भने भुक्तानी पाउनेछ । विभागले निर्माण कम्पनीबाट भएको कामको मूल्यांकन गरेर भुक्तानी दिनेछ । हाल साबिक निर्माण कम्पनीबाट भएको कामको मूल्यांकन गर्ने काम भइरहेको महानिर्देशक बरालले बताए ।

‘हाल पुरानो ठेकेदारले गरेको कामको मूल्यांकन गर्ने काम भइरहेको छ । मूल्यांकन प्रक्रियापछि देखिने हिसाबका आधारमा निर्माण कम्पनीले भुक्तानी पाउनेछ,’ उनले भने । राष्ट्रिय गौरवको उक्त आयोजनाको बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना र गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडान गर्न पटेल—रमण जेभीसँग १४ अर्ब आठ करोड रुपैयाँ ९करसहित०मा १७ पुस ०७९ मा ठेक्का सम्झौता भएको थियो । ठेक्काको म्याद ५५ महिना अर्थात् १८ असार ०८४ सम्म थियो ।

तर, सम्झौता गरेको ६१ प्रतिशत समय सकिँदासम्म १० प्रतिशत मात्रै काम भएपछि गत २५ कात्तिकमा ठेक्का सम्झौता तोडिएको थियो । अन्तरिम सरकारका तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको पहलमा ठेक्का तोडिएको थियो ।

ठेक्का तोड्दा जमानत पनि जफत गर्नुपर्छ । सोहीअनुसार विभागले जमानत जफत गर्ने प्रक्रिया पनि अघि बढाएको थियो । तर, यता निर्माण कम्पनीले जमानत जफत नगर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । त्यसमा १० मंसिरमा न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले धरौटी जफतको प्रक्रिया यथास्थितिमा राख्नु भनेर अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसपछि धेरौटी जफत अघि बढ्न सकेको थिएन । त्यसपछि अन्तरिम आदेश सम्बन्धमा मंगलबार भएको सुनुवाइमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने भन्दै आदेश जारी गरेको हो । अधिवक्ता उमेश रूपाखेतीले यो कोशेढुंगा भएको बताए ।

‘सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडिएको कार्य, पेस्की जमानत जफत, कार्यसम्पादन जमानत जफतलगायतका सरकारी निर्णय अगाडि बढाउन सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ । इन्जिनियरिङ काम गराउने सरकारी कार्यालय र निर्माण उद्योगका लागि कोशेढुंगा हो,’ उनले भने, ‘तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको छोटो कार्यकालमा निर्माण उद्योगको अराजकता अन्त्य गर्न चालिएको एक ठुलो कदमले सफलता पाएको छ ।’

योसँगै विभागले तीन अर्ब ६० करोड रुपैयाँको बैंक ग्यारेन्टी जफतको प्रक्रियासमेत अगाडि बढाउने भएको छ । विभागका महानिर्देशक मित्र बरालले अब जमानत जफत प्रक्रिया अघि बढ्ने बताए । ‘यसअघि अल्पकालीन अन्तरिम आदेशका कारण प्रक्रिया अघि बढाउन पाएका थिएनौँ,’ उनले भने, ‘सर्वोच्चले बाटो खुला गरेको छ । अब यसको प्रक्रिया अघि बढ्छ ।’

बाँकी कामका लागि ठेक्का आह्वान गर्ने तयारी
विभागले बाँकी कामका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी पनि अघि बढाइसकेको छ । हाल परियोजनामा पटेल–रमणले गरेको काम र बाँकी कामको विस्तृत मूल्यांकन गर्ने काम भइरहेको छ । त्यो टुंग्याएर अबको दुई–तीन महिनामा नयाँ टेन्डर आह्वान गर्ने विभागको तयारी छ । अब बाँकी काम गर्न नयाँ लागत अनुमान पनि गर्नुपर्नेछ । यसअघि यो प्याकेजको निर्माणमा १८ अर्ब रुपैयाँ बढी लागत अनुमान थियो । त्यसमा पटेल–रमण जेभीले लो बिड गरेर १४ अर्ब आठ करोडमा ठेक्का सम्झौता गरेको थियो । अब नयाँ ठेक्का कुन रकममा सम्झौता हुन्छ, त्यो भने हेर्न बाँकी छ ।


क्याटेगोरी : समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!