डेढ लाख निर्वाचन प्रहरी चुनावी मैदानमा खटिए
काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटिनेछन् ।
नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई १८ माघमा नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले तालिम पूरा भएका निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षार्थ खटाउन लागिएको बताए ।
‘मुलुकभर छनोट भएका सबै निर्वाचन प्रहरीको तालिम पूरा भएको छ । १० दिनको तालिम लिएका छन् । उनीहरूले गत १८ माघमा नियुक्तिपत्र लिएका थिए । अब निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइँदै छ,’ उनले भने ।
चार हजार ६१४ सय मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आयोगले देशभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । यसभित्र २३ हजार ११२ निर्वाचन केन्द्र छन् । संवेदनशीलताका हिसाबले कतिपय एक निर्वाचन केन्द्रलाई एक निर्वाचन स्थलबराबरकै सुरक्षाकर्मी परिचालन गर्नुपर्ने सुरक्षा विश्लेषण छ ।
प्रहरीले चार हजार ६१४ निर्वाचनस्थललाई अतिसंवेदनशील मानेको छ । जुन कुल मतदानस्थलको ४२।०७ प्रतिशत हो । अतिसंवेदनशील मतदानस्थलमा बागमती र मधेश प्रदेशमा बढी छन् ।
बागमतीमा एक हजार २८८ र मधेशमा एक हजार २४६ गरी दुईहजार ५३४ मतदानस्थल अतिसंवेदनशील छन्, यो कुल अतिसंवेदनशीलको ५४।९१ प्रतिशत हो । बाँकी दुई हजार ८० अर्थात् ४५।०९ प्रतिशत अतिसंवेदनशील निर्वाचनस्थल अन्य प्रदेशमा छन् । उपत्यकामा १२, कोशीमा ४३९, गण्डकीमा ३२८, लुम्बिनीमा ४६२, कर्णालीमा ३५८ र सुदूरपश्चिममा ४८१ छन् ।
त्यस्तै, चार हजार ४४२ मतदानस्थल सुरक्षा चुनौती
विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा २३७, कोशीमा ८२१, मधेशमा ७५५, बागमतीमा ४९७, गण्डकीमा ५७७, लुम्बिनीमा ७३८, कर्णालीमा ४२२ र सुदूरपश्चिममा ३९५ छन् । बाँकी दुई हजार ८४५ स्थल भने सामान्य ठानिएका छन् छन् ।
क्याटेगोरी : समाज

प्रतिक्रिया