मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको दाबी गरेका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूले अन्य पार्टीका कुनै पनि नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धनमा कुनै आश्वासन नदिएको दाबी गरेका हुन्।
केही दिन अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए। उनीहरुलाई एमालेले यस्तो आश्वासन दिएको चर्चा चलिरहँदा ओलीले भने कुनै पनि दलका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका हुन्।
ओलीले आगामी निर्वाचनमा एमालेले धेरै स्थानमा जित निकाल्ने दाबी गरे। नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने उनको भनाइ थियो।
एमालेले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने विश्वास ओलीको थियो।
अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए। उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए। स्थानीय तहको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट संख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया