नवनिर्वाचित १८ जना सांसदको शपथ स्थगित
काठमाडौँः राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्य निर्वाचनपछि मात्रै हुने भएको छ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन फागुन २१ गते हुँदै छ । सोही मितिदेखि राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यको कार्यकालसमेत सुरु हुने छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि मात्रै हुने जानकारी दिए। उनले भने, “१९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने छ । नवनिर्वाचित सदस्यको कार्यकाल फागुन २१ गतेदेखि सुरु हुने छ तर सोही दिन निर्वाचनको मिति जुधेकाले निर्वाचनपछि मात्रै शपथग्रहण हुने तयारी छ ।”
नवनिर्वाचित सदस्यको शपथ फागुन २१ गतेपछि हुने भए पनि कार्यकाल फागुन २१ देखि नै गणना हुने छ । प्रवक्ता गिरीले भने, “फागुन अन्तिम साता शपथ हुने छ । संसद्को अर्को अधिवेशन आह्वान भएपछि शपथग्रहण गरेका सदस्यहरूले औपचारिक रूपमा कार्यभार समाल्नु हुने छ ।”
अधिवेशन आह्वान हुनुअघि सदस्यको व्यक्तिगत विवरण अद्यावधिक गर्नेलगायतका काम हुने छन् । राष्ट्रिय सभाका उपाध्यक्षसहित कार्यकाल सकिएका १८ सदस्यमध्ये तीन जना विषयगत समितिका सभापति पनि हुनुहुन्छ । राष्ट्रिय सभामा थप दुई जना सदस्यको पद रिक्त छ । राष्ट्रपतिबाट मनोनीत हुने एक र नेपाली कांग्रेसबाट निर्वाचित सभाका सदस्य बलदेव बोहोराको निधनपछि दुई पद रिक्त छन् ।
क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया