पूर्वप्रधानमन्त्रीहरु चुनाव लड्दै, नतिजाको पर्खाइमा आमनागरिक
काठमाडौँ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशको कार्यकारी नेतृत्व समालेका तीन जना शीर्ष नेता प्रतिनिधि सभा निर्वाचनमा तीन भिन्न निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्युनिस्ट पृष्ठभूमिका तीन पूर्वप्रधानमन्त्रीले उम्मेदवारी दिएर प्रचारप्रसारमा होमिएका हुन् ।
संविधान सभाबाट विसं २०६५ जेठ १५ गते २४० वर्षदेखिको राजतन्त्रात्मक शासनव्यवस्थाको अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेयता निरन्तर देशको कार्यकारी र पार्टी नेतृत्वमा बसेका केही नेता फागुन २१ को निर्वाचनमा प्रतिस्पर्धी छैनन्। विघटित प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी मनोनयन दर्ताअघि माघ ६ गते सचिवालयमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरे ।
राजतन्त्रात्मक शासनव्यवस्थाको अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेयता निरन्तर देशको कार्यकारी र पार्टी नेतृत्वमा बसेका नेताहरु फेरी चुनावी मैदानमा उत्रिएका छन् ।
पूर्वप्रधानमन्त्रीमध्ये नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कम्युनिस्ट पार्टीकै सहसंयोजक माधवकुमार नेपाल प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धामा छन् तर नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल निर्वाचनमा उम्मेदवार बनेका छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरे पनि फिर्ता लिएका छन् ।
आधार क्षेत्रमा लगातार विजयी
कांग्रेस पूर्वसभापति देउवा २०४८ देखि २०७९ सम्म भएका आवधिक निर्वाचनमा निरन्तर डडेलधुराबाटै उम्मेदवार बनेका थिए । उनलाई डडेलधुरावासीले सात पटक संसद्मा पठाए । संविधान सभा निर्वाचनमा कैलालीबाट पनि उनी विजयी भए। उनी २०४८ को निर्वाचनपछि गृहमन्त्री र २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा प्रधानमन्त्री भए ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाटै चुनाव लड्दै आएका छन् । २०६४ को संविधान सभा निर्वाचनमा पराजित भए पनि त्यसअघि र पछिका आवधिक निर्वाचनमा प्रतिस्पर्धा गरेर उनी संसद्मा उपस्थित छन् । उनले साबिककै क्षेत्र झापा क्षेत्र नं। ५ बाट उम्मेदवारी दिएका छन् । एमालेले उनलाई प्रधानमन्त्री पदको उम्मेदवार पनि घोषणा गरेको छ । उनी २०७२, २०७४ र २०८१ मा प्रधानमन्त्री बनेका थिए।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६४ को संविधान सभा निर्वाचनमा रोल्पा र काठमाडौँ हुँदै त्यसयता सिरहा, गोरखाबाट विजयी बनेका थिए र फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् । संसदीय राजनीतिमा आएपछि पूर्वप्रधानमन्त्री प्रचण्ड पनि निरन्तर प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भए । उनीले २०६५, २०७३ र २०७९ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २०६६ मा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका थिए। नेता नेपालले १५ वर्षसम्म एमालेको नेतृत्व गर्दा प्रतिनिधि सभा सदस्यका रूपमा संसद्मा पनि निरन्तर उपस्थिति जनाए । उनले रौतहट क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् । उनी काठमाडौँ क्षेत्र नं २ बाट पनि निर्वाचित भएका थिए ।
उम्मेदवार नभएका अन्य पूर्वप्रधानमन्त्री
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल इलामबाट निरन्तर संसद्मा प्रतिनिधित्व गरे र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमाले छाडेर तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका नेता खनालको संसद् यात्रामा विराम लाग्यो तर २०७४ को प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाटै भारी मतान्तरसहित उनी विजयी भएका थिए । उनले यस पटक उम्मेदवारी दिएका छैनन । उनी २०६७ मा प्रधानमन्त्री बनेका थिए ।
तत्कालीन नेकपा ९माओवादी०, एकीकृत माओवादी, नयाँ शक्ति हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षक रहेका डा। बाबुराम भट्टराईले पनि गणतन्त्र स्थापनापछि २०७९ मा उम्मेदवारी दिएनन् । उनले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन भरे पनि फिर्ता लिएका छन् । उनी २०६८ मा प्रधानमन्त्रीको जिम्मेवारीमा ररहेका थिए। पञ्चायतकालदेखि प्रजातन्त्रसम्म देशको कार्यकारी प्रमुख रहेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि उम्मेदवार छैनन । उनले संविधान सभा २०६४ को निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गरे पनि त्यसयता संसदीय यात्राबाट पलायन भए ।
२०४०, २०४६, २०५३ र २०५९ मा प्रधानमन्त्री पदमा रहेका नेता चन्दले सत्ता राजनीति छाडे पनि अध्ययन र साहित्य लेखनलाई निरन्तरता दिएका छन् । संविधान सभा निर्वाचन २०७० को निर्वाचन गराउन गठित सरकारको नेतृत्व गरेका मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी चुनावी प्रतिस्पर्धामा कहिल्यै आएनन् । गणतन्त्र स्थापनाकाल र त्यसपछि प्रधानमन्त्री पदमा रहेका कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधन भइसकेको छ ।
प्रधानमन्त्रीमा प्रस्तावित पार्टीका उम्मेदवारको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने लक्ष्य सबै राजनीतिक दलले राखेकै हुन्छन् तर केही दल प्रधानमन्त्री पदको प्रस्तावित उम्मेदवार घोषणा गरेरै निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदको उम्मेदवार बनाएको छ । उनी सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । त्यसै गरी एमालेले अध्यक्ष ओलीलाई र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । उनीहरू दुई जना झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार


प्रतिक्रिया