सात दिने उदघोषण तालिम सम्पन्न

काठमाडौं, साउन २६ गते । शेर्पा सञ्चार समूह, नेपालले सात दिने उदघोषण तालिम सम्पन्न गरेको छ । शेर्पा र नेपाली भाषामा गरिएको तालिममा ६० जना प्रशिक्षार्थीले तालिम लिनुभएको आयोजकले जनाएको छ ।
शेर्पा संघको भवन नारायणटारमा आयोजित उदघोषण तालिममा अग्नीप्रसाद भट्टराई मुख्य प्रशिक्षक रहनुभएको थियो । तालिमको समापन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले तालिमले मान्छेलाई परिस्कृत बनाउने हुनाले सात दिने प्रशिक्षण उपलब्धीपूर्ण रहेको बताउनुभयो । मान्छेले आफूलाई जहिले सक्षम बनाउन तयार रहनु पर्ने र यस्ता तालिमले प्रशिक्षार्थीलाई सहयोग पुग्नेगरेको उहाँले धारणा राख्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले उदघोषण एक किसिमको कलात्मक सिर्जना भएको बताउनुभयो । उदघोषण एक किसिमको सञ्चार कार्य भएको चर्चा गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, “उदघोषक जहाज उडाउने पाइलटजस्तै हो । सफल उदघोषकले कार्यक्रमलाई परिपक्व र उत्साहजनक बनाउने गर्छ ।”
उदघोषकमा राम्रो भाषा शैली हुनुपर्ने, हँसिलो फुर्तिलो हुनुपर्ने, मिलनसार, मिठो बोली, शिष्टा भाषा, उपकरण यन्त्रको ज्ञान हुनुपर्ने चौधरीले बताउनुभयो । सफल उदघोषण गर्न सके ठुलो मासलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।
शेर्पा सञ्चार समूह नेपालकी कार्यबाहक अध्यक्ष डोल्मा शेर्पाको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष लाम्पा ठिलो शेर्पा, धर्मगुरु आचार्य नुवु शेर्पा, धर्मगुरु खोन्पो नुर्वु शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष डामा शेर्पा, शेर्पा महिला संघकी अध्यक्ष थाक्ची शेर्पा, प्रशिक्षक अग्नीप्रसाद भट्टराई, प्रशिक्षार्थीहरु फुरल्हम् शेर्पा, छेवाङ शेर्पा लगायतले धारणा राख्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि गेल्जे लामा शेर्पा र विशिष्ट अतिथि लक्की चौधरीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया