विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाउनुभएको हो ।
डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी हुनुभएको हो । महासभालाई सम्बोधन गर्दै उहाँले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरूसँग आग्रह गर्नुभयो ।
साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि कार्यक्रम आयोजना गर्न नेपाल तयार रहेको उल्लेख गर्दै डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्य हुने विश्वास व्यक्त गर्नुभयो ।
डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव हुनुहुन्छ । यही जुलाई १८ मा भएको उक्त महासभामा ९० देशबाट १२० जनाको सहभागिता भएको थियो । नेपाललगायत अन्य चार राष्ट्रबाट उक्त महासभामा सम्बोधन भएको थियो ।
महासभामा डा श्रेष्ठले श्रीलङ्का, टाइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरूसँग भेट गरी भेटेरिनरी क्षेत्रका समस्या र एवं अवसरका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विश्व भेटेरिनरी एसोसिएसनको आगामी महासभा जापानको टोकियोमा हुनेछ । नेपाल सन् १९९८ देखि विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया