स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन आह्वान

प्रतिनिधिसभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन विश्वव्यापी आह्वान गर्नुभएको छ । जेनेभामा बुधबार आयोजित विश्व स्वास्थ्य सङ्गठनसभाको संसदीय संवाद कार्यक्रममा उहाँले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन दृढताका साथ कानुन निर्माण गरी आवश्यक लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तर–संसदीय सङ्घ(आइपियू) स्वास्थ्य समितिको सदस्यसमेत रहनुभएकी सांसद गौतमले कानुन निर्माण र आवश्यक लगानीका क्षेत्रमा विश्वभरका सांसदहरूलाई एकजुट भई सहकार्य र समन्वय गर्न आह्वान गर्नुभयो ।
“दृढताका साथ कानुन बनाऔँ, निर्भयतापूर्वक आवश्यक लगानी गरौँं र स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाका रूपमा संरक्षण गरौंँ”, उहाँले भन्नुभयो, “सांसदहरू अब परिवेक्षक मात्र होइन, हामी उत्तरदायित्वको रक्षा, समताका पक्षधर र दूरगामी विकासका नेतृत्वकर्ता हौँ ।”
विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) र अन्तर–संसदीय सङ्घ (आइपियू)को सहकार्यमा आयोजित उक्त संवाद कार्यक्रममा उहाँले हालै पारित भएको डब्लुएचओको महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पार्नुभयो ।
“यो सम्झौताले महत्त्वपूर्ण कामको सुरुआत गरेको सङ्केत गर्दछ”, उहाँले भन्नुभयो, “आगामी दिनमा महामारीको सम्भावना भएमा जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमा आदानप्रदान गर्नेदेखि न्यायोचित पहुँच सुनिश्चित गर्न पहुँच र लाभ साझेदारी प्रणालीमा संवाद र वार्ता गर्नुपर्नेछ ।” त्यसका लागि विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्ने उहाँको भनाइ छ ।
सांसद गौतमले सबै राष्ट्रहरूका संसद्बाट यो अनुमोदन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने सङ्केत दिएकोप्रति चिन्तासमेत व्यक्त गर्नुभयो । “नेपाल जस्तो निम्न आय भएका देशमा यसको गम्भीर असर पर्छ । भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन । जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन”, उहाँले भन्नुभयो ।
सांसद गौतमले संसद् कार्यपालिकालाई जवाफदेही बनाउने मुख्य अङ्ग भएको भन्दै संसद्को सक्रियताबिना कुनै पनि प्रतिबद्धता प्रभावकारी नहुने बताउनुभयो । उहाँले यस प्रकारको कार्यक्रमले संसद्लाई स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस भएको धारणा व्यक्त गर्नुभयो ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया