Techie IT
  • ४ फागुन २०८२, सोमबार
Nepal Gyan

सरकारले तोक्यो मस्यौराको गुणस्तर मापदण्ड


काठमाडौँः सरकारले मस्यौराको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐनले दिएको अधिकार प्रयोग गरी मस्यौराको गुणस्तर मापदण्ड निर्धारण गरेको हो । मापदण्ड राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आएको छ ।

सरकारले तोकेको परिभाषा अनुसार मस्यौरा भन्नाले मास वा अन्य दलहनलाई भिजाएर सोको बोक्रा पूर्ण वा आंशिक रूपमा हटाई पिसेर लेदो बनाई सोमा बोक्रा हटाई ससाना टुक्रा पारिएको पिँडालु, कर्कलो, तरुल, आलु, कुभिन्डो, तरकारी, सागपातलगायतका खाद्यपदार्थ मिसाई तयार पारिएको खाद्य पदार्थ हो ।

नयाँ व्यवस्था अनुसार अब मस्यौरा भनेर बिक्री गरिने खाद्य पदार्थमा मास ९कालो दाल० वा अन्य दलहन प्रयोग अनिवार्य गरिएको छ भने तौल बढाउन वा सस्तो बनाउन अन्न, भटमास वा तिनबाट बनेका उत्पादन मिसाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

मस्यौरा स्वच्छ र सफा भई चारित्रिक स्वाद र बास्ना भएको हुनुपर्ने छ । यसमा ढुसी तथा किरा लागेको, सडेको तथा ओसिएको हुनु हुँदैन । मस्यौरामा जलांश बढीमा ११ प्रतिशत, कुल भस्म, प्रतिशत तौलका आधारमा बढीमा चार प्रतिशत हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

यस्तै घुलनशील हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भस्म, प्रतिशत तौलका आधारमा बढीमा ०।१५ प्रतिशत हुनुपर्ने छ । यस्तै मस्यौरामा कुल प्रोटिन, प्रतिशत सुक्खा तौलको आधारमा घटीमा १५ प्रतिशत हुनुपर्ने मापदण्ड रहेको छ । मस्यौराको उत्पादन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण तथा ढुवानीमा स्वच्छता तथा गुणस्तर कायम गर्नेसम्बन्धी मन्त्रालयले तोकेबमोजिम हुने छ ।

प्याकेजिङ र लेबलिङसम्बन्धी व्यवस्थामा मस्यौरालाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याकेजिङ गर्नुपर्ने छ । प्याकेजिङ गरिएको मस्यौराको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेबमोजिम विवरण उल्लेख गर्नुपर्ने छ । लेबलमा मस्यौरा तयार गर्न प्रयोग गरिएको सम्मिश्रणको विवरण स्पष्ट रूपमा देखिने गरी उल्लेख गर्नुपर्ने छ ।


क्याटेगोरी : समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!