नेपालबाट ६ महिनामा बाहिरियो झन्डै सात अर्ब
काठमाडौं । राष्ट्र बैंकको तथ्यांकनुसार चालू आवको पुस मसान्तसम्म ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । चालू आर्थिक वर्ष ०८२–८३ को पहिलो ६ महिनामा नेपालबाट औपचारिक माध्यमबाट बाहिरिने रेमिट्यान्स ५२.६६ प्रतिशतले बढेको हो ।
गत आवको पहिलो ६ महिनामा नेपालबाट चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो । नेपालमा विदेशी कामदारको संख्या बढ्न थालेपछि बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको हो । अघिल्लो आव ०८०र८१ सम्म नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्न सकेको थिएन । कोरोना र त्यसपछिको आर्थिक शिथिलताले नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्न सकेको थिएन । गत आवदेखि भने नेपालबाट बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको हो ।
वैदेशिक रोजगारीबाट नेपालमा उच्च मात्रामा रेमिट्यान्स भित्रिन्छ । चालू आवको ६ महिनामा रेमिट्यान्स आप्रवाह ३९ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा सात खर्ब ६४ अर्ब ३० करोड ८० लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालू आवमा ६ महिनामा भने १० खर्ब ६२ अर्ब ९२ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपालमा रेमिट्यान्स आप्रवाह उच्चदरमा बढ्दै आएको छ । नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको उच्च योगदान छ । तर, यही देशबाट बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको छ । यद्यपि, त्यो रकमका आधारमा कम छ ।
नेपालमा रोजगारीका लागि आएका विदेशी कामदारले आफ्नो यहाँ बुझेको पारिश्रमिक आफ्नो मुलुकमा रेमिट्यान्स पठाएका हुन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार हालसम्म २२ हजार चार सय ३९ जना विदेशी कामदारले श्रम इजाजत लिएका छन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन पाउने व्यवस्था छ । विदेशी कामदारले आफूले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ ।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी, जलविद्युत् आयोजना, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् । विशेष गरी विदेशी लगानीका कम्पनी, आयोजना, बैंक, बिमा कम्पनीमा विदेशी कर्मचारीको संख्या बढी छ । जलविद्युत् तथा पूर्वाधार आयोजनामा विदेशबाट प्राविधिक कामदार बढी आउने गर्छन् । उनीहरूले नेपालमा कमाउने पैसा रेमिट्यान्समार्फत आफ्नो देश पठाउने गर्छन् ।
अहिले डाबर नेपाल, युनिलिभर नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंक, मेट लाइफ इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, एलआइसी नेपाल, दी ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्सजस्ता कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् । यसैगरी, नागढुंगा सुरुङमार्गमा जापानिज, सिद्धबाबा सुरुङमा पनि चिनियाँ, दुई सय १६ मेगावाटको त्रिशूली जलविद्युत्मा कोरियाबाट कर्मचारी ल्याइएको छ । यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, नेपालमा विभिन्न कम्पनी तथा परियोजनामा विदेशी कामदार छन् ।
विदेशी लगानीका कम्पनी तथा परियोजनाले आफ्नै कर्मचारी ल्याएर पनि आउँछन् । स्वदेशी कम्पनीले भने नेपालमा उपलब्ध नहुने सिप क्षमताका कर्मचारी विदेशबाट ल्याउने गर्छन् । यद्यपि, राष्ट्र बैंकको यस तथ्यांकमा अनौपचारिक माध्यमबाट जाने रेमिट्यान्स भने समावेश छैन । नेपालमा थुप्रै भारतीय नागरिक आएर श्रम इजाजत नलिई अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरूले कमाएको पैसा भने औपचारिक रूपमा लैजान पाउँदैनन् ।
उनीहरूले कमाएको पैसा सीमा क्षेत्रमा सटही गरेर नगद नै आफ्नो देश लैजाने गर्छन्, जुन तथ्यांक यसमा समावेश छैन । साथै, त्यसबापत कति रकम जान्छ भनेर कुनै अध्ययन पनि छैन । यद्यपि, अमेरिकाको पिउ रिसर्च सेन्टरले सन् २०१७ मा विश्वमा रेमिट्यान्स आप्रवाहबारे एक अध्ययन गरेको थियो । सो अध्ययनले भारतबाट करिब एक अर्ब अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिने देखाएको थियो । त्यस्तै, नेपालबाट भने तीन अर्ब अमेरिकी डलर रेमिट्यान्स भारत जाने प्रतिवेदनमा उल्लेख थियो ।
साढे पाँच वर्षमा बाहिरियो ४४ अर्ब ५२ करोड रेमिट्यान्स
राष्ट्र बैंकको आँकडाअनुसार पछिल्लो साढे पाँच वर्षमा नेपालबाट ४४ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । आव ०७७–७८ मा ६ अर्ब एक करोड ८५ लाख रुपैयाँ, आव ०७८–७९ मा सात अर्ब ६७ करोड ९१ लाख रुपैयाँ, आव ०७९–८० मा ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ, आव ०८०–८१ मा ६ अर्ब ६ करोड दुई लाख रुपैयाँ र गत आव ११ अर्ब १७ करोड २३ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत आवमा बाहिरिएको रेमिट्यान्स हालसम्मकै उच्च हो । चालू आवको ६ महिनामा भने ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ ।
क्याटेगोरी : अर्थ, समाज

प्रतिक्रिया