Techie IT
  • ६ फागुन २०८२, बुधबार
Nepal Gyan

२२ लाख ५० हजार नगद दक्षिणा दिएर नागा बाबा र साधुसन्तको बिदाइ


काठमाडौँः गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको छ ।
दुई हजार २०० नागाबाबासहितका साधुसन्तलाई कूल रु २२ लाख ५० हजार नगद दक्षिणा स्वरुप दिइएको संस्थानका प्रशासक शैलेशराज कुँवरले जानकारी दिए। संस्थानले दिएको दक्षिणाको आधा कोषले पनि ती साधु सन्तलाई दिएर बिदाइ गरेको छ । कोषले रु ११ लाख २५ हजार दक्षिणा स्वरुप नागा बाबासहितका साधुसन्तलाई दिएको जनाइएको छ ।

मङ्गलबार बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको थियो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधु सन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए।
पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधु सन्त चार हजारभन्दा बढी आएको अनुमान गरिए पनि पहिलो चरणमा आज दुई हजार २०० जनालाई बिदाइ गरिएको र बाँकी र रहेका साधुसन्तलाई पनि बिदाइ गरिने जनाइएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रही आएको छ । संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताए ।

महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने प्रचलन छ । आज नागा बाबासहितका साधु सन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिएको संस्थानले जनाएको छ ।

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!