Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Nepal Gyan

८० प्रतिशतले घट्यो सुनचाँदीको कारोबार


काठमाडौँः सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि न्युरोड नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् ।

माघ, फागुन महिनामा बिहेको लगन हुन्छ । विगतका वर्ष यसबेला सुन पसलमा गहना खरिद गर्ने ग्राहकको भिड लाग्ने गर्थ्यो । व्यापार पनि अन्य सिजनको तुलनामा दोब्बरले बढी हुने गर्थ्यो । अहिले भने अधिकांश सुनचाँदी पसल सुनसान छन् ।

सुनको मूल्य बढेर साढे तीन लाखनजिक पुगेपछि बजारमा माग नहुँदा सुनको कारोबार ठप्प छ । मुख्य बजारका सुन पसलमा फाट्टफुट्ट कारोबार भए पनि अन्य पसलमा भने कारोबार ठप्प छ । मूल्य बढ्दा सुनको कारोबार ८० प्रतिशतले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहेको सिजन भए पनि बजारमा सुनको २० प्रतिशतभन्दा बढी कारोबार हुन सकेको छैन । महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले मूल्य बढेकाले सुनको माग नै नहुँदा कारोबार हुन नसकेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा सुनको मूल्य बढ्ने घट्ने अनुमान गर्न कठिन भएको उनले जानकारी दिए । निरन्तर बढेको सुनको मूल्यले सुनचाँदी व्यवसायमा ठुलो असर परेको उनको भनाइ छ । सुनको मूल्य तोलामा चार लाख पुग्यो भने धेरै सुनचाँदी पसल बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ ।

काठमाडौँको नयाँसडकस्थित लक्ष्मी गोल्ड अर्नामेन्टका सञ्चालक लक्ष्मी महर्जनले सुनको कारोबार ठप्प भएको बताए । “उपभोक्तासँग क्रयशक्ति नहुँदा माग छैन,” उनले भने, “यसरी नै मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसाय सञ्चालन गर्नै नसक्ने अवस्था हुन्छ ।” सुनको व्यापार नहुँदा पसलको भाडा र कर्मचारीलाई तलब खुवाउनसमेत समस्या पर्न थालेको उनको भनाइ छ ।

यस्तै जयश्री महालक्ष्मी ज्वेलर्सका प्रबन्धक विष्णु सापकोटाले विवाहका लागि आवश्यक पर्ने ग्राहक मात्र आउने गरेको जानकारी दिए । अस्वाभाविक रूपमा सुनको मूल्य बढेपछि अत्यावश्यक परेकाले कम मात्रामा सुन खरिद गरेर काम चलाउने र केहीले पुराना गहना बेचेर त्यसमा थपेर नयाँ लैजाने गरेको उनको भनाइ छ । सामानको अर्डर आएपछि मात्र काम हुन्छ नत्र गहना बनाउने कालिगडसमेत खाली बस्नु परेको उनको भनाइ छ । विगतका वर्ष बिहेमा एकै परिवारले १० तोलासम्म सुन किन्ने गरेकोमा अहिले थोरै सुनले काम चलाउने गरेको उनको भनाइ छ ।

देशभर २२ हजार सुनचाँदी पसल सञ्चालनमा छन् । सुनको कारोबार नभएपछि सुनचाँदी व्यवसायमा प्रत्यक्ष असर परेको छ । सुनचाँदी व्यवसायमा काम गर्ने कर्मचारी र कालिगड साढे दुई लाख छन् । सुनको कारोबार घटेर २० प्रतिशतमा झर्दा सुनचाँदी व्यवसायमा काम गर्नेलाई ठुलो असर परेको व्यवसायीको भनाइ छ । निरन्तर बढेको सुनको मूल्यले सुनचाँदी व्यवसायीसँगै उपभोक्तालाई समेत असर परेको छ । उपभोक्ताको क्रयशक्ति कम हुँदा सुनका गहना खरिद गरेर प्रयोग गर्न सक्ने अवस्था छैन । जसको कारणले गर्दा पनि बजारमा सुनको कारोबार दिनप्रतिदिन घट्दै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार पाँच सय र एक तोला चाँदीको पाँच हजार ३४० कायम भएको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!