Techie IT
  • २८ माघ २०८२, मंगलबार
Nepal Gyan

मागको एकतिहाइ मात्रै आपूर्ति हुँदा ग्यास अभाव भयोः विभाग


काठमाडौं । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा न्यून ग्यास आपूर्ति भएकाले बजारमा अभाव कायम रहेको निष्कर्ष निकालेको छ । सोमबार दिउँसो विभागले आयल निगम र गुणस्तर तथा नापतौल विभागसहित चारवटा टोली संयुक्त अनुगमनमा खटाएको थियो ।

ती टोलीले कीर्तिपुर, कलंकी, कुलेश्वर, सोह्रखुट्टे, नयाँ बसपार्क, बालाजु, भक्तपुर, कोटेश्वर र चक्रपथआसपास क्षेत्रका ग्यास डिलर, वितरक र उद्योगमा समेत पुगेर अनुगमन गरेका छन् । उक्त अनुगमनमा खटिएका सबै टोलीले मागभन्दा न्यून ग्यास आपूर्ति भएको फेला परेको विभागका निर्देशक नरहरि तिवारीले बताए ।

उनका अनुसार मागको एकतिहाइ मात्रै आपूर्ति भएकाले उपभोक्ताले खाजेका वेला ग्यास पाउन समस्या भएको हो । ‘अहिले माग ह्वात्तै बढेको छ, तर बजारमा मागको एकतिहाइ पनि ग्यास आपूर्ति नभइरहेको पायौँ,’ उनले भने, ‘आयात बढाएर आपूर्ति सहज गर्नुको विकल्प छैन ।’ आयल निगमले भने दैनिक औसत मागभन्दा बढी आयात र वितरण भइरहेको दाबी गरेको छ । ‘आयल निगमले तुरुन्तै अहिलेको मागअनुसार आयात क्षमता वृद्धि गर्नुपर्छ । औसत मागभन्दा बढी आयात भयो भन्ने टालटुले कुरा गरेर आपूर्ति सहज हुँदैन,’ उनले भने, ‘उद्योग र डिलरकहाँ उपभोक्ताको लाइन छ ।’ मुलुकभर दैनिक औसत एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । निगमले माघ लागेयता दैनिक सवा लाख सिलिन्डर भर्न पुग्ने ग्यास आयात गरिरहेको दाबी गरेको छ । तर, बजारमा आपूर्ति सहज हुन सकिरहेको छैन ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले मागभन्दा बढी आयात गर्न कोटा निर्धारण भइरहेको बताए । ‘विगतको भन्दा बढी ग्यास आयात भइरहेको छ । फेब्रुअरीमा मात्रै नियमितभन्दा दुई हजार टन बढी ग्यास आयातका लागि स्वीकृति प्रदान गरिएको छ,’ उनले भने, ‘काठमाडौंमा दैनिक ४० हजार थान ग्यास भरिएका सिलिन्डर आपूर्ति भइरहेको छ ।’

मासिक ४७ हजार टनसम्म ग्यास आयात भइरहेकामा निगमले फेब्रुअरीका लागि ४९ हजार पाँच सय टन आयातको कोटा स्वीकृत गरेको जनाएको छ । प्रवक्ता ठाकुरले काठमाडौंमा बजारीकरण गरिरहेका २३ वटा उद्योगले डिलरलाई नियमित रूपले ग्यास उपलब्ध गराइरहेको जानकारी दिए । तर, उपभोक्ताले घरमा सञ्चय गरेर राखेको खाली सिलिन्डरमा समेत अभावको त्रासले ग्यास भरेर राख्न थालेकाले आपूर्ति सहज गराउन कठिनाइ भइरहेको बताए । ‘घरमा रहेका सबै खाली सिलिन्डर भरेर राख्ने प्रवृत्ति बढ्यो, त्यसैले पनि आपूर्ति सहज गराउन केही समय लागिरहेको छ,’ उनले भने ।

सोमबार अनुगमनमा खटिएका वाणिज्य विभागका निर्देशक तिवारीले डिलरकहाँ ग्यास आउनासाथ सकिने गरेको बताए । ‘२५–२६ वटा डिलरकहाँ अनुगमनमा पुग्यौँ, त्यहाँ ग्यास आउनासाथ सकिहाल्ने अवस्था पायौँ । औसत मागभन्दा बढी आयात भइरहेको तथ्यसँग अनुगमन टोली सन्तुष्ट हुन नसक्ने उनको भनाइ छ । ‘बढी ग्यास आएको होइन, मागअनुसार नआएको हो,’ उनले भने, ‘उद्योगले मागअनुसार ग्यास दिन सकेको छैन भन्नुको अर्थ आयातमै कमी भएको हो । त्यसैले आपूर्ति बढाउनुको विकल्प छैन ।’

मुलुकभर मासिक ३० लाख सिलिन्डर ग्यास खपत हुने प्रक्षेपण छ । यो प्रक्षेपणअनुसार उपभोक्ताको भान्सामा ३० लाख, देशभर रहेका पाँच हजारभन्दा बढी डिलरकहाँ ३० लाख र उद्योगमा थप ३० लाख सिलिन्डर रहने अनुमान छ । यसमा थप १० लाख सिलिन्डर जोडेर कुल एक करोड थान सिलिन्डर बजारमा ‘रोटेसन’ भइरहने आयल निगमको तथ्यांक छ । पछिल्लो समय प्रमाणीकरण भएको सिलिन्डरको संख्या एक करोड ४० लाखभन्दा बढी छ । ‘रोटेसन’मा नरहेका ४० लाख सिलिन्डर उपभोक्ताको घरमा रित्तो भएर बस्ने गरेको बुझाइ छ । तर, अहिले अभावको त्रास फैलिएपछि सबै सिलिन्डरमा ग्यास भर्न एकैपटक बजारमा ल्याइएको निगम प्रवक्ता ठाकुरको दाबी छ ।

चारवटा उद्योगको आपूर्तिमा धेरै असहजता
काठमाडौं उपत्यकामा नेपाल, एभरेस्ट, साईबाबा र श्रीकृष्ण ग्यास उद्योगका सिलिन्डर पाउन मुस्किल भइरहेको छ । आयल निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै चारवटै उद्योगको ग्यास नपाए सम्बन्धित व्यक्तिलाई सम्पर्क गरेर ग्यास खरिद गर्न आग्रह गरेको छ । काठमाडौंमा सबैभन्दा धेरै नेपाल ग्यासको आठ लाख सिलिन्डर बजारमा छ ।

त्यसपछि एभरेस्ट ग्यासको करिब पाँच लाख सिलिन्डर छन् । धेरै उपभोक्ता रहेका दुवै उद्योगको आपूर्तिमा असहज भइरहेको वाणिज्य विभागको अनुगमनले पनि फेला पारेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!