करेन्ट चाउचाउ धेरै खानु यस कारण हानिकारक
काठमाडौँ । पछिल्लो समय नेपालमा इन्स्ट्यान्ट नुडल्सको क्रेज झन् बढ्दो क्रममा छ। विशेष गरी अत्यधिक मसालेदार नुडल्स खाने ट्रेन्ड युवापुस्तामध्ये निकै लोकप्रिय भएको छ। सोही क्रममा बजारमा पाइने ‘करेन्ट’ चाउचाउले उपभोक्तालाई आकर्षित गरिरहेको छ।
नेपालका केही नुडल्स उत्पादकहरूले पनि यस्तै स्वाद र प्याकिङ शैली नक्कल गरेर नयाँ ब्रान्ड बजारमा ल्याएका छन्। काठमाडौँमा यशोदा फूड्सले करेन्ट चाउचाउ खानका लागि दुई वटा आउट लेट नै सञ्चालनमा ल्याएको छ, जसले यसको लोकप्रियता अझै बढाएको सङ्केत गर्छ।
तर विज्ञहरूले चेतावनी दिएका छन् – स्वादिलो भए पनि यस्तो खानेकुरा स्वास्थ्यका लागि सुरक्षित छैन। चाउचाउमा अत्यधिक नुन र मसाला – मुटु र पेटका लागि खतरनाक भएको बताएका छन् ।
‘करेन्ट’ जस्ता नुडल्समा अत्यधिक सोडियम (नुन) प्रयोग हुन्छ, जसले उच्च रक्तचाप, मुटु रोग र मिर्गौला समस्याको जोखिम बढाउँछ। साथै, अत्यधिक मसालेदार झोलले पेट पोल्ने, ग्यास्ट्रिक र अल्सरको समस्या निम्त्याउँछ।
कृत्रिम प्रिजरभेटिभको असर
स्वाद बढाउन नुडल्समा हालिने मोनो सोडियम ग्लुटामेट र अन्य कृत्रिम रसायन दीर्घकालीन रूपमा शरीरमा असर पार्छन्। स्वास्थ्य विज्ञका अनुसार नियमित सेवनले मोटोपना, मधुमेह र मेटाबोलिक डिसअर्डरको खतरा बढ्छ।
पोषण अभाव र खाली क्यालोरी
यस्ता नुडल्समा कार्बोहाइड्रेट बढी भए पनि प्रोटिन, भिटामिन र मिनिरल कम हुन्छन्। विज्ञहरू भन्छन्, “यो खाना भन्दा बढी केवल ‘फिल्लर’ हो, जुन पेट त भर्छ तर पोषण दिन सक्दैन।”
बालबालिका र बिरामीका लागि अझ बढी जोखिम
ग्यास्ट्रिक रोगी, रक्तचाप भएका बिरामी र बच्चाहरूलाई यस्तो नुडल्स नियमित खुवाउनु खतरनाक हुन्छ।
विशेषज्ञहरूको सल्लाह छ – “करेन्टजस्ता मसालेदार नुडल्स कहिलेकाहीँ मात्र खाऊँ, नियमित नगरौँ। स्वादकै नाममा स्वास्थ्य गुमाउनु बुद्धिमानी होइन।”
क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया