Techie IT
  • १८ साउन २०८२, शनिबार
Nepal Gyan

गुरु पद्मसम्भवको जन्म दिवस र महाकाल जात्रा विविध धार्मिक कार्यक्रमसहित मनाइने


­काठमाडौं — तिब्बती बौद्ध परम्परामा दोस्रो बुद्धका रूपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे) को जन्म दिवस ‘छेच्यु’ तथा बौद्ध धर्मका धर्मपाल महाकालको जात्रा यस वर्ष विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा साउन १९ गते बिहान ९ बजेबाट बौद्ध महाचैत्य वरपरका क्षेत्रहरू — महाकाल, तीनचुली र घ्योइलिसाङ पोखरी (गुरु पार्क) मा विशेष पूजा, प्रार्थना र आध्यात्मिक क्रियाकलाप गरिने जानकारी दिइयो। उक्त दिन दिउँसो ३ बजे तीनचुलीबाट गुरु रिन्पोछेको प्रतिमासहित शोभायात्रा निकालिने छ। शोभायात्राले बौद्ध महाचैत्यको परिक्रमा गरेपछि गुरु रिन्पोछेको आठ लीला झल्काउने परम्परागत धार्मिक नृत्य ‘गुरु छेड्गे छ्याम’ समेत प्रस्तुत गरिनेछ।

यसै क्रममा, महाकाल जात्राको परम्परागत थालनी साउन २७ गतेबाट हुने बताइएको छ। जात्रामा दुइहाते महाकालको प्रतिमा खटमा राखी रामहिटी, तीनचुली, बौद्ध, टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा पुर्‍याइनेछ। महाकालको पूजा बौद्ध धर्मावलम्बी लामा, बज्राचार्य र हिन्दू परम्पराका ब्राह्मण गुरुहरूद्वारा संयुक्त रूपमा गरिनेछ। जात्राको मुख्य समारोह बिहान ११ बजेबाट सुरु हुनेछ जसमा शार्दूल जंग गुल्म (गुरुजु पल्टन) ले हर्ष बढाइ कार्यक्रम प्रस्तुत गर्नेछ।

बौद्ध धर्म, तान्त्रिक साधना, सांस्कृतिक ऐतिहासिकता र साम्प्रदायिक सहिष्णुताको सन्देश दिन सक्ने विश्वाससहित यस वर्षको गुरु जन्म उत्सव र महाकाल जात्रालाई नयाँ ढंगले मनाउने तयारी गरिएको आयोजकहरूले बताएका छन्।


क्याटेगोरी : विविध

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!